बत्तीमा झुम्मिरहेका सेता पुतली राम्रो लाग्यो भन्दैमा
हातले टिप्ने गल्ती नगर्नुहोला । त्यस्तै पुतलीको सम्पर्कबाट आँखाको
ज्योतिसमेत गुम्ने सापु रोगका विरामी राजधानी लगायत देशका विभिन्न जिल्लामा
ठूलो संख्यामा भेटिएका छन् ।
तिलगंगा
आँखा अस्पतालमा मात्रै भदौयता १५ जनाभन्दा बढी यस्ता विरामी भर्ना भइसके ।
तीमध्ये पाँच जनाको मात्रै उपचारपछि सुधार भइरहेको छ । आधाभन्दा बढीको
ज्योतिनै गुमेको तिलगंगाकी सापु विशेषज्ञ डा. अनु मानन्धरले बताइन् ।
बिरामीमध्ये अधिकांश बालबालिका रहेको नागरिक दैनिकमा खबर छ ।
पुतलीका पखेटा र शरीरबाट झर्ने सेता झुस
आँखाको सम्पर्कमा आएर यो रोग सल्किन्छ । चिप्रा नखाए पनि आँखा रातो भएर
आउँछ । विस्तारै आँखाको कालो भागमा पिप भरिन थाल्छ । त्यसपछि पूरै पिप
भरिन्छ । यसले आँखाको पर्दा र नसा लगायत महत्वपूर्ण भागमा असर पुर्याउँछ ।
उपचार गर्न आएका मध्ये धेरैको भित्री भागसम्म रोग फैलिसकेको थियो । केहीमा
अघिल्लो भाग र रेटिनामा मात्रै असर थियो । यस्ता खालका पुतली असोजदेखि
मंसिरसम्म बढी देखिन्छन् ।