 
                                 
भ्यालेन्टाइन टिप्स
टिनएजरहरूको महाकुम्भ 'भ्यालेन्टाइन डे' आउन अब एक हप्ता पनि बाँकी छैन। 
हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने यो प्रेम उत्सव युवापुस्ताका लागि 
स्वर्गीय आनन्द प्राप्त गर्ने अवसर बन्ने गरेको छ। हप्तौं अघिदेखि नै 
काठमाडौंका  गल्ली तथा चोकहरूमा यसको रौनक छाइसकेको छ। विभिन्न होटल, 
रिसोर्ट एवं रेस्टुरेन्टहरूले भ्यालेन्टाइन प्याकेज प्रस्तुत गरिरहेका छन्।
 भ्यालेन्टाइन डेको चहलपहलले आमयुवाको मनमुटुमा एक खालको तरङ्ग नै पैदा 
गरिदिएको  छ। 
प्रेमको प्रतीक प्रणय दिवसको सुरुआत रोमबाट भएको हो। सन्त भ्यालेन्टाइनको 
मृत्युसँगै यो दिवस मनाउन थालिएको हो । प्रेमका लागि प्राण त्याग्न तयार 
उनको सम्झनामा हरेक वर्ष यो दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाइँदै  आएको 
छ। प्रेमलाई चिन्ताबाट मुक्ति दिलाउने अचुक औषधीका रूपमा पनि लिइन्छ। हरेक 
प्राणी जगत्मा प्रेम अत्यावश्यक र अनिवार्य मानिन्छ। विपरीत लिङ्गीबीचको 
प्रेम मात्र प्रेम नभई एक-अर्काप्रति गरिने सद्भाव, माया र आदर  पनि प्रेम 
नै हो।
भ्यालेन्टाइन कला
भ्यालेन्टाइन डेलाई रोमाञ्चक एवं अविस्मरणीय बनाउन केही अचुक सूत्र पालना 
गर्नु आवश्यक छ। भ्यालेन्टाइन डे मनाउने क्रममा जोसमा होस गुमाएर 
पछुताउनेहरू मात्र होइन, पहिलो प्रस्तावमै फेल खानेहरू समेत थुप्रै छन्।  
सानोतिनो कमजोरीले पनि कायम सम्बन्धलाई सुमधर बनाउनुभन्दा त्यसमा फाटो 
ल्याउने काम मात्र गर्न सक्छ। त्यस कारण आफ्ना प्रेमी/प्रेमिकाको मन जित्न र
 विश्वासी बन्न भ्यालेन्टाइन कला जान्नु अनिवार्य छ, जसले आपसी  निकटता 
नङमासुझैं बन्न सहयोग पुग्छ। 
आफ्नो साथीसमक्ष भ्यालेन्टाइन डे मनाउन राखेको प्रस्ताव अस्वीकृत भएको 
खण्डमा एकैपटक रिसाइ नहाल्नुहोस्, किनभने उसले तपाईंको छड्के चेक गरेको 
हुनसक्छ। सकेसम्म मायालु शब्द प्रयोग गर्दै रिक्वेस्ट गर्नुहोस्। भेट  
हुनासाथ माया लिन/दिन हतार गर्नु हुँदैन। भ्यालेन्टाइन सरप्राइज दिंदा 
महँगोभन्दा पनि आकर्षक, रोमान्टिक र प्रेमभाव झल्किने उपहार किन्नु उत्तम 
हुन्छ। सँगै बसेर खाँदा वातावरणलाई सकभर प्रेममय बनाउनुहोस्। जीवनका हरेक  
दुःख-कष्टलाई चटक्कै बिर्सनुहोस्। प्रेममय बनाउने धुनमा उत्तेजित भै साथीको
 आग्रहविपरीत रोमान्स गर्नतिर नलाग्नुहोस्। आफ्नी साथी पनि रोमान्सकै लागि 
भ्यालेन्टाइन डे मनाउन आएकी हुन्, त्यसैले बिस्तारै रोमान्समा होमिनु  
स्वादिलो हुन्छ। दुवैले एक-अर्काको आँखाको इसारा बुझ्नु अत्यावश्यक छ। 
इसाराबाटै रोमान्सको उदय हुन्छ।
दम्पतीलाई टिप्स
भ्यालेन्टाइन डे टिनएजर तथा प्रेमी/प्रेमिकाहरूले मात्र मनाउने पर्व होइन,
 यसलाई दम्पतीले पनि उत्तिकै महत्वका साथ मनाउन सक्छन्। यसले दाम्पत्य 
जीवनलाई थप निकट, सुखद एवं रोमाञ्चक बनाउँछ। यसका लागि विभिन्न  उपाय 
अपनाउन सकिन्छ। जस्तै दम्पतीले मिठासपूर्ण प्रेममय वातावरणमा डिनर खानु, 
हल्का वाइन र पेय पदार्थ लिई 'मुडफ्रेस' हुनु जसले दुवै जनाको मुहारमा 
मायाको प्रतिविम्ब झल्किन्छ र मायामा डुबुल्की मार्न सघाउ पुग्छ।  
भ्यालेन्टाइनको रातलाई अझ रोमाञ्चक र रोमान्समय बनाउन सुगन्धित तेलले 
एक-अर्काको मसाज गर्दा पनि आपसी सम्बन्धमा न्यानोपन छाउँछ।
दम्पतीले भ्यालेन्टाइन डे मनाउन एक-अर्कालाई व्यक्तिगत उपहार पनि दिन 
सक्छन्। यसका लागि आफ्ना पुराना रोमान्टिक नोटहरू, फोटो एल्बम, निजी 
अविस्मरणीय क्षणहरू समेटिएको डायरीजस्ता व्यक्तिगत उपहार एक-अर्कालाई  दिएर
 पनि भ्यालेन्टाइन डे मनाउन सकिन्छ। अर्को भनेको मीठा परिकार एक-अर्कालाई 
आफैंले बनाएर ख्वाउन सकिन्छ। यसले निकटता मात्र नभएर एक-अर्कामा क्षमता 
दर्साउन पनि सघाउ पुग्छ। त्यस्तै जीवनका लक्ष्यलाई सफलतासँग दाँजेर 
मिठासपूर्ण वातावरणमा न्यानो माया दिएर पनि भ्यालेन्टाइन डे मनाउन सकिन्छ। 
अरू बेला डाडुपन्यु र कुचो खाएको कुरालाई चटक्कै बिर्सेर एक-अर्काको मायामा
 तैरिनुपर्छ, जसले सम्बन्धमा नयाँ ऊर्जा थपिनेछ र प्रगाढता  छाउनेछ।
टिनएजरलाई टिप्स
पार्टनरले भ्यालेन्टाइन डे मनाउने अफर गर्नुपूर्व नै आफूले रिक्वेस्ट 
गर्नुपर्छ। झुक्किएर पनि यो दिन बिर्सियो भने सम्बन्धमा एउटा दाग त बस्छ 
नै। यदि तपाईंहरूबीच विवाह नै भए जीवनभर पार्टनरले हरेक भ्यालेन्टाइन डेमा 
यो कुरा  कोट्याएर हैरान पार्न सक्छन्। 
भ्यालेन्टाइन र गिफ्टबीच नङमासुको सम्वन्ध हुन्छ। त्यस कारण यो दिन आफ्नो 
पार्टनरलाई गिफ्ट दिन बिर्सनु हुँदैन। गिफ्ट किन्दा पार्टनरलाई इमोसनल 
प्रभाव पर्ने खालको अनौठा सरप्राइज दिनुपर्छ। गिफ्टअनुसार पार्टनरले आफ्नो 
 मूल्यांकन गर्ने हुँदा उसको मनोभाव वुझेर प्रेमको प्रतीकका रूपमा उपहार 
दिनु उपयुक्त हुन्छ।
गिफ्टमा रातो गुलाबको फूलसँगै मुटु आकारको अन्य कुनै चिटिक्क परेको उपहार 
दिइयो भने पार्टनर पनि मख्ख पर्नेछन्। मुटु आकारको चकलेट, ब्रासलेट तथा 
नेकलेसहरू पनि उपहार दिन सकिन्छ। पार्टनरको चाहनाअनुरूप प्रविधिसँग जोडिएका
 मोबाइल, आइफोन, ल्याप्टप, क्यामेरा आदिका नयाँ मोडल पनि गिफ्टका रूपमा 
प्रदान गर्न सकिन्छ।
कुनै रेस्टुराँ अथवा भ्यालेन्टाइन स्पटमा सँगै बसेर एक-अर्कालाई लन्च अथवा
 डिनर ख्वाउन सके यो दिन अविस्मरणीय बन्नेछ। अझ संभव भए आफ्नै घरमा दुई 
जनाबीच भ्यालेन्टाइन पार्टी दिन सके सुनमा सुगन्ध थपिनेछ। 
यदि लन्च/डिनरका लागि आफ्नो घरमै पार्टनरलाई निम्त्याउने हो भने रातो 
गुलाफ र बेलुनले डिनर रुम सिंगार्न बिर्सनु हुँदैन, जसले पार्टनरको पहिलो 
दृष्टि नै आफूमा केन्द्रित गराई रोमाञ्चक र आकर्षक बनाउँछ। पार्टनरलाई मन  
पर्ने खानेकुरा आफैंले बनाएर ख्वाउन सके पार्टनरले आफूमै सुनौलो संसार 
देख्छन्। 
यो दिन सकेसम्म पार्टनरलाई गहिरो मायामा पार्ने र उनीबाट बढीभन्दा बढी 
माया कसरी हात पार्ने भन्नेमै ध्यान केन्द्रित गर्नुपर्छ। सामान्य डेटिङको 
जस्तो क्रियाकलाप गर्नु त्यति उपयुक्त मानिदैन।
भ्यालेन्टाइन डेटिङमा आफ्नो पार्टनरको पर्याप्त प्रशंसा गर्न हिचकिचाउनु 
हुँदैन। आफूलाई मन पर्ने भएपछि प्रशंसा गर्न किन चुक्ने ? यो कुरा पनि 
बिर्सनु हुँदैन कि युवतीहरू आफ्नो प्रेमीबाट आफ्नो प्रशंसा होस् भन्ने 
चाहन्छन्। यदि  प्रशंसामा दुई शब्द खर्चेर चाहेको प्रेमी-प्रेमिका पाइन्छ 
भने किन कन्जुस्याइँ गर्ने ? त्यसैले जलप लगाएर भए पनि प्रशंसा गर्नुपर्छ। 
कालो अनुहार भए पनि हिस्सी राम्रो भनेर प्रशंसा गर्नुपर्छ। गोरो अनुहार भए 
हिउँजस्तै गोरी भन्नुपर्छ,  तर यस्तो प्रशंसालाई प्रेमी-प्रेमिकाले 
व्यंग्यका रूपमा नहेरून् भन्ने कुरामा उत्तिकै सचेत हुनुपर्छ।
यदि लामो समय प्रेमालाप चलिसकेको हो भने भ्यालेन्टाइन डेको सरप्राइजका 
रूपमा गर्लफ्रेन्डलाई केही दिनका लागि लामो दूरीको भ्रमणमा लान सकिन्छ। 
त्यस्तो अवसर प्राप्त भयो भने जीवनका आकर्षक लक्ष्यहरू प्रस्तुत गर्न 
चुक्नु  हुँदैन। त्यस्तै गर्लफ्रेन्डहरूले पनि आफ्नो ब्वाइफ्रेन्डलाई 
सरप्राइज दिन बिर्सनु हुँदैन। 
आफ्नो हितैषीले दिएको गिफ्ट सहज रूपमा स्वीकार गर्नुपर्छ। गिफ्टलाई कहिल्यै रुपैयाँ-पैसासँग तौलिनु अथवा खोट देखाउनु हुँदैन।
भ्यालेन्टाइन डेटिङमा रमाइलोका नाममा अनावश्यक जोक्स गर्नु हुँदैन, जसले 
प्रेमपूर्ण वातावरणलाई हल्का बनाउँछ। स्वाभाविक जोक्स र प्रेमालापले नै 
भ्यलेन्टाइन डे अविस्मरणीय बन्छ।
के दिने गिफ्ट ?
रातो गुलाफ
भ्यालेन्टाइन डेमा प्रेमको प्रतीक रातो गुलाफलाई अनिवार्य गिफ्टका रूपमा 
लिइन्छ। यसका साथै आफ्नो प्रेमी/प्रेमिकाबाट थप माया पाउन र भ्यालेन्टाइन 
डेलाई थप रोमाञ्चक र अविस्मरणीय बनाउन रातो गुलाफ अनिवार्य  मानिन्छ। त्यसो
 त भ्यालेन्टाइन डेमा रातो गुलाफ आदानप्रदान गर्नु संस्कृति नै बनिसकेको छ।
 आकर्षक डिजाइनमा सजाइएको रातो गुलाफ आफ्नो गर्लफ्रेन्ड/ब्वाइ फ्रेन्डलाई 
दिंदा आपसी सम्बन्धको रोमाञ्चकतामा सुगन्ध थपिनेछ। 
ग्याजेट्स
बजारमा आएका नयाँ मोडलका विभिन्न ग्याजेटहरू पनि गिफ्टका रूपमा प्रदान 
गर्न सकिन्छ। किनभने पार्टनरले उक्त ग्याजेटको आवश्यकता महसुस गरिरहेका 
हुनसक्छन्। मोबाइल, आइफोन, आइपड, ट्याब्लेटजस्ता ग्याजेट्सहरू  गिफ्टका 
रूपमा दिंदा लामो समय पनि टिक्ने हुनाले उनलाई सधैं आफ्नो सम्झना रहनेछ। 
फेसनेबल ड्रेस
भ्यालेन्टाइन डेमा आफ्नो हितैषीलाई मनपर्ने पोसाक गिफ्टका रूपमा दिने चलन 
छ। फेसनेबल ड्रेसलाई गिफ्टका रूपमा दिँदा प्रेयसीको मनमा उमंग छाउँछ, तर 
यस्तो ड्रेस किन्नुपूर्व प्रेयसीको भावना भने बुझ्नुपर्छ। उनलाई कुन  रङ, 
डिजाइन तथा साइज मन पर्छ भन्ने कुरा ख्याल गरेर मात्र सामान खरिद 
गर्नुपर्छ, अन्यथा प्रेयसीको आफूप्रति हेर्ने नजरनै फरक पर्न सक्छ। 
भ्यालेन्टाइन गिफ्टका रूपमा पहिरन किन्दा त्यसले प्रेमको भाव झल्काएको 
हुनुपर्छ।  गिफ्ट दिंदा सकेसम्म सरप्राइजका रूपमा दिन सक्नुपर्छ जसले 
दुवैको मनमा माया बढाउनेछ।
फेसनेबल वालेट
हाम्रो साथमा सधैं रहिरहने केही कुरामध्ये मुख्य कुरा हो- वालेट। मोबाइल 
बरु कहिलेकाहीं छुट्न सक्छ तर वालेट प्रायः साथमै हुन्छ। घरबाहिर जाँदा 
मात्र होइन, घरभित्रै पनि हामीसँगै टासिएर बस्छ यो। त्यसकारण वालेट पनि  
गिफ्टका रूपमा प्रदान गर्न सकिन्छ। यसलाई गिफ्टका रूपमा दिंदा दुवैको 
सम्झना नजिक रहन्छ। वालेट आकर्षक डिजाइन र चिटिक्क परेको हुनुपर्छ। सस्तो 
भए पनि राम्रो र प्रयोग गर्न सजिलो वालेट छनौट गर्नुपर्छ। वालेट  
अत्यावश्यक मात्र नभै शौख पनि भएको हुँदा ब्रान्डेड वालेट गिफ्ट दिनु उत्तम
 हुन्छ। 
ब्रासलेट र घडी
विभिन्न प्रकारले बनाइएका ब्रासलेट तथा घडीहरू पनि गिफ्टका रूपमा प्रदान 
गर्न सकिन्छ। विभिन्न गहनाबाट बनाइएका ब्रान्डेड ब्रासलेट र घडी खरिद गर्दा
 त्यसको डिजाइनमा भने ध्यान पुर्याउनुपर्छ। घडी गिफ्ट दिनुको सांकेतिक  
अर्थ हुन्छ- समयको ख्याल राख्नु। समयको पालना एवं ठीक टाइममा ठिक डिसिजनमा 
पनि यसको महत्व हुन्छ। ब्रासलेट किन्दा औकातअनुसार डिजाइन, आकार र मात्रा 
छनौट गर्नुपर्छ, जुनसुकै गिफ्ट किन्दा पनि प्रेयसीको मनोभाव  बुझ्न 
सक्नुपर्छ।
फोटो बुक
प्रविधिको विकास भए पनि तस्बिरलाई एल्बममा सुरक्षित राख्ने चलन हराइसकेको 
छैन। त्यसैले आफूहरूको स्पेसल मुभमेन्टको संकलनका लागि पनि फोटो एल्बम 
अत्यावश्यक छ। तस्बिरहरू संग्रह गरी आफूहरूको विगत सम्झेरै  रमाउन र 
एक-अर्काको माया अभिवृद्धिका लागि फोटो एल्बमलाई पनि गिफ्टका रूपमा प्रदान 
गर्न सकिन्छ। यसरी संग्रह गरिएका तस्बिरहरू हेर्दा आफूहरूको सम्वन्ध बुझ्न र
 निकटता बढाउन उत्प्रेरणा मिल्नेछ। फोटोबुकमा आफ्ना  स्पेसल मुभमेन्टका 
तस्बिरहरू राखेर गिफ्ट दिन सके अझ राम्रो हुन्छ। किनभने ती तस्बिरहरू हेरेर
 पार्टनर विगतको रोमान्समा हराउनेछन् र आफूप्रतिको दृष्टि थप 
सकारात्मक हुनेछ।
फेब्रिट टिनएजर्स पुस्तक
आफ्ना गर्लफ्रेन्ड/ब्वाइफ्रेन्ड अध्ययनका पारखी छन् भने पुस्तक पनि 
गिफ्टका रूपमा प्रदान गर्न सकिन्छ। पुस्तक गिफ्ट दिनुपूर्व उसको चाहनालाई 
भने बुझ्नु पर्छ। साहित्य, प्रविधि, अर्थतन्त्र, विज्ञान, खेलकुद, इतिहास, 
सामाजिक  जस्ता कुन विषमा रुचि छ सोही अनुसारको पुस्तक गिफ्ट दिन सकिन्छ। 
भ्यालेन्टाइन बढीजसो टिनएजरले मनाउने भएकाले टिन्स समस्या र समाधानसँग 
सम्बन्धित पुस्तकहरू उपहार दिन सकिन्छ। यसले पार्टनरको शैक्षिक स्तर 
वृद्धि  हुनुका साथै हरपल तपाईंको सम्झना दिलाइरहनेछ। पुस्तकभित्रका हरेक 
गतिविधिसँगै आफ्नो मुहार पनि झल्किनेछ।
खेलकुद सामग्री
खेल मानवजीवनको अभिन्न पाटो हो। त्यस कारण यसबाट कोही पनि अछुतो हुन 
सक्दैन। आफ्नो पार्टनरको रुचि कुन खेलमा छ सोही अनुसारको सामग्रीलाई आफ्नो 
गिफ्ट आइटममा समावेश गर्न सकिन्छ।
रोमान्टिक डायरी
भ्यालेन्टाइन डेमा आफ्नो प्रेमी/प्रेमिकालाई दिइने गिफ्टमा यो बढी उपयुक्त
 हुन्छ। आफ्नो व्यक्तिगत भावना, घटना र यथार्थलाई उतारेर तयार पारिएको 
डायरी गिफ्ट दिंदा उसलाई आफ्नो विगत, वर्तमान र यथार्थता बुझ्न  सजिलो 
हुन्छ। यस्तो डायरी तयार पार्दा निजी भावनासँगै प्रेमीसँगको भेटपछिका 
तीतामीठा क्षण एवं रोमान्टिक पलहरू समेट्नुपर्छ। यसको अध्ययन गर्दा त्यो 
क्षणमा डुबुल्की मारेको आभास होस्। यसमा कविता, भावना, गजल, सायरी,  
मुक्तकजस्ता कुरा पनि छुटाउनु हुँदैन। सफा अक्षरमा चिटिक्क पारेर लेखिएका 
यस्ता नोटले आफ्नो हितैषीको मन जित्न सघाउ पुग्छ। यस्तो डायरीलाई 
जीवनीजस्तो भने बनाउनु हुँदैन। 
डायरी तयार पार्दा शब्दहरूको प्रयोगमा विशेष ध्यान पुर्याउनुपर्छ। भद्दा र
 भारी साहित्यिक नभएर सरल, आकर्षक, प्रेमप्रतीक र मायालु शब्दहरू प्रयोग 
गर्नुपर्छ। यदि पुराना प्रेमी/प्रेमिका भए विगतमा आफूहरूले भोगेको 
रोमाञ्चक  क्षण, भ्रमण आदि कुरालाई सरल एवं आकर्षक शैलीमा उतार्नुपर्छ। 
यसले आपसी सम्बन्धमा देखिएका केही खटपटीमा औषधीको काम गर्छ। यदि नयाँ जोडी 
हो भने आकर्षक र लोभलाग्दो शैलीमा लभलेटर लेख्न सकिन्छ। पहिलोपल्ट  
प्रेमप्रस्ताव राख्ने हो भने यो अझ उत्तम माध्यम बन्न सक्छ। फेसबुक, मोबाइल
 र इमेलभन्दा लभलेटरप्रतिको विश्वास अझ बढी हुन्छ। त्यस कारण पनि पर्सनल 
डायरी भ्यालेन्टाइनक डेको गतिलो गिफ्ट बन्न सक्छ। त्यसबाहेक हाम्रो  दैनिकी
 जीवनको प्रयोगमा आउने अन्य थुप्रै कुरालाई गिफ्टका रूपमा प्रदान गर्न 
सकिन्छ। 
भ्यालेन्टाइन स्पट
भ्यालेन्टाइन डे मनाउन कता जाने प्लान बनाउँदै हुनुहुन्छ? एकछिन सोचेर 
गन्तव्य छनौट गर्नुभयो भने यो दिन अझ रोमाञ्चक सावित हुन सक्छ। 
भ्यालेन्टाइन डे मनाउन अधिकांश युवा डेटिङस्पट नै पुग्छन्, तर भ्यालेन्टाइन
 डेका  लागि डेटिङस्पट मात्र पर्याप्त हुँदैन। यदि पहिलो प्रेम प्रस्ताव 
राख्दै हुनुहुन्छ भने त झन् स्पट छनौटमा पर्याप्त ध्यान दिनु आवश्यक छ।
यसका लागि प्रेमी/प्रेमिकासँग छलफल गरी दुवैको चाहनाअनुरूप स्पट छनौट 
गर्नु उत्तम हुन्छ। दुवैबीचको सम्बन्धस्तरलाई पनि ध्यान दिनु आवश्यक छ। 
स्पट छनौटमा एकलौटी निर्णयले आफ्नो साथीलाई मर्का पार्न सक्छ, त्यसकारण  
दुवैको मनोभावना बुझ्नु आवश्यक छ। भ्यालेन्टाइन डे मनाउन विशेषतः क्याफे, 
रेस्टुराँ, पार्क, होटल, मनोरम स्थल वा सुनसान स्थल नै रोजिन्छ। 
विदेशमा भ्यालेन्टाइन डेका लागि भ्यालेन्टाइन स्पटको व्यवस्था हुने भए पनि
 नेपालमा खासै त्यस्तो व्यवस्था हुन सकेको छैन। केही क्याफे तथा 
रेस्टुराँहरूले भ्यालेन्टाइन प्याकेज सार्वजनिक गर्ने गरेका छन्। स्पट छनौट
 गर्दा प्रेममय  वातावरण, रोमाञ्चकताले भरिपूर्ण, प्रेम प्रस्तावका लागि 
उपयुक्त, सुन्दर र आकर्षक स्थल छनौट गर्नुपर्छ जसले आफ्नो सम्बन्ध अझ सुमधर
 र निकट बन्न सकोस्। सार्वजनिक स्थलमा मनाइने भ्यालेन्टाइन डे अस्वाभाविक 
मात्र हुँदैन,  त्यसले सम्बन्ध पनि मजबुत हुँदैन। त्यस कारण हरियाली, 
प्रेममय र आनन्ददायक स्पट छनौट गर्न सक्नुपर्छ।