शील भट्टराई, काठमाडौं, असोज १६ - मुलुकको उड्डयन इतिहासमै पहिलोपटक
'स्याटेलाइट' मा आधारित भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज
अवतरण गराइएको छ। यसरी अवतरण गराउँदा पाइलटको कुनै काम हुँदैन। जहाजमा २ सय
यात्रु थिए। यहाँको विमानस्थल र कतारबाट अनुमति पाएपछि यो प्रणालीबाट जहाज
अवतरण गरेको हो।
त्रिभुवन विमानस्थलमा सोमबार बिहान
साढे ८ बजे कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज स्याटेलाइटमा आधारित
'नेभिगेसनल' प्रणालीबाट सफल अवतरण गरेको हो।
'६ वर्षको निरन्तर
प्रयासपछि बल्ल यो प्रणालीबाट जहाज अवतरण गराउन सफल भयौं,' विमानस्थलका एक
उच्च अधिकारीले सोमबार नागरिकसँग भने, 'यसबाट जहाज र यात्रु सबैभन्दा बढी
सुरक्षित हुन्छन्।'
उनका अनुसार जहाजमा 'रिक्वायर्ड नेभिगेसन
पर्फर्मेन्स-अथोराइजेसन रिक्वायर्ड' (आरएनपी-एआर) कम्प्युटर प्रणाली जडान
गरेपछि स्याटेलाइटबाट प्राप्त निर्देशनअनुसार जहाज आफैं आरामसाथ अवतरण
गर्छ।
'विमानस्थलमा अवतरण गर्नु केही मिनेटअघि जहाजलाई आरएनपी-एआर
प्रणालीमा राखेपछि पाइलटहरू आरामसँग बसे हुन्छ,' ती अधिकारीले भने,
'पाइलटले केही गर्नुपर्दैन, दायाँ, बायाँ, अगाडि कतै हेर्नुपर्दैन, मौसम
कस्तो छ, जहाजको गति, उचाइबारे पाइलटले चिन्तै लिनुपर्दैन। यात्रुले त झन्
डराउनै पर्दैन, यसबाट उडान सुरक्षा बढेको छ।'
सम्बद्ध एक
अधिकारीका अनुसार बाक्लो कुहिरो लागेर मौसम खराब भएर 'भिजिबिलिटी' कम भएका
बेला पनि यो प्रणालीबाट सहजै जहाज अवतरण गर्न मिल्छ। अन्तर्राष्ट्रिय उडान
गर्ने मध्यम किसिमका जहाजलाई यहाँ अवतरण गर्न २ हजार ८ सय मिटर र त्यसभन्दा
ठूला जहाजलाई ३ हजार २ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने त्रिभुवन
विमानस्थलको नियम छ।
जहाजको ककपिटभित्र बसेका पाइलटले सिधा अगाडि
हेर्दा जति सफा देख्छन्, त्यसलाई भिजिबिलिटी भनिन्छ। विमानस्थलको
नियमअनुसार अन्तर्राष्ट्रिय जहाज अवतरण गर्ने बेला मध्यमखाले जहाजका
पाइलटले सिधा अगाडि २ हजार ८ सय मिटर र ठूलाले ३ हजार २ सय मिटर सफा
देख्नैपर्छ। त्यसपछि मात्र अवतरण गर्न सकिन्छ।
'अब त्यति धेरै
होइन, जम्मा १ हजार मिटर भिजिबिलिटी भए पनि जहाज आरामसँग अवतरण गर्छ,' ती
अधिकारीले भने, 'यसका लागि टावरमा भएका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) ले
स्याटेलाइट प्रणालीमा अवतरण गर्न आइरहेका जहाजलाई सहज वातावरण
बनाइदिनुपर्छ।'
उनका अनुसार एटिसीले त्यसरी जहाज आउने बाटोमा अन्य
जहाजलाई जान दिनु हुँदैन। बाँकी काम आरएनपी-एआर यन्त्रले आफैं गर्छ। 'भेरी
हाइ फ्रिक्वेन्सी ओम्नी डिरेक्सन रेडियो रेन्जेज' (भिओआर) र 'डिस्ट्यान्स
मिजरिङ इक्विपमेन्ट' (डिएमई) यन्त्रले काम नगरे पनि यो प्रणालीबाट अवतरण
गर्न सकिन्छ।
भिओआरले जहाजलाई दिशानिर्देश गर्छ भने डिएमईले
विमानस्थलबाट जहाजको दुरीबारे जानकारी दिन्छ। दुवै यन्त्रले पूर्व, पश्चिम,
उत्तर वा दक्षिण कुन दिशामा जाँदा विमानस्थल धावनमार्ग भेटिन्छ भन्ने
जानकारी जहाजलाई दिन्छ।
'काठमाडौंबाट करिब १५ मिनेट दुरीमा रहेको
सिमरा माथि आइपुगेपछि नयाँ प्रणालीबाट अवतरण गर्न सकिन्छ,' उनले भने,
'त्यहाँबाट कम उचाइ र कम भिजिबिलिटी भए पनि आरामसँग जहाज आफैं आउँछ।
पाइलटले केही गर्नुपर्दैन। सिधा आउन समस्या भए बांगोटिंगो बाटोबाट पनि जहाज
आउँछ। डाँडामाथिबाट उड्दा जहाजको अग्लाइ २ हजार फिट हुनुपर्ने भए पनि अब
आधा कममै आउँछ। आकासमै होल्ड गर्नुपर्दैन भने डाइभर्ट गरेर अन्तै अवतरण
गर्न जानु पनि गर्नुपर्दैन।'
विमानस्थलका अनुसार यहाँ उडान
गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका ७० प्रतिशत जहाजमा यस्तो
यन्त्र जडित छ। हाल ३२ कम्पनीका जहाजले यहाँ उडान गरिरहेका छन्। कतार
एयरवेजले अनुमति पाएपछि अन्यले पनि यसमा चासो दिइरहेका छन्। संसारका धेरै
विमानस्थलमा यो प्रणालीबाट जहाज अवतरण गराइन्छ। यो प्रणाली आन्तरिक उडान
गर्ने साना जहाजमा भने हुँदैन।
त्रिभुवन विमानस्थलमा प्रमुख
सिजनका बेला आन्तरिक र अन्तर्राष्ट्रिय गरी औसत दैनिक ४ सय ५० तथा सामान्य
अवस्थामा औसत दैनिक २ सय ५० उडान-अवतरण हुने गर्छ।