
जिवनशैलीमा आएको परिवर्तन तथा खानपानका कारण विश्वमा वयस्क मानिसमा मात्र 
होइन बच्चाहरुमा पनि मोटोपनको समस्या बढ्दै गएको छ । विकशित देशहरु तथा 
विकाशोन्मुख देशका पनि सहरीया बच्चाहरुमा खासगरी 
मोटोपनको
 समस्या रहेको छ । विश्वमा अहिले २ करोड २० लाख बच्चाहरु बढि तौल अर्थात् 
अत्यधिक मोटोपनको समस्याबाट पीडित छन् । तथापि आफ्ना बच्चाबच्ची मोटाउँदा 
आमाबुवा खुसी नै हुन्छन् र बच्चामा मोटोपन समस्याको रुपमा खडा हुँदै गएको 
कुरा थाहै पाउँदैनन् ।
 
 नेदरल्याण्डस्थित मेडिकल सेन्टरका 
शोधकर्ताहरुका अनुसार बच्चाहरुमा अधिक तौल अर्थात् मोटोपनको स्वास्थ्य 
समस्याका विषयमा अभिभावक नै बेखवर हुने गरेका छन् । धेरै आमाबुवालाई बच्चा 
दुब्लो हुनुभन्दा बढि मोटाउनु झनै राम्रो हो भन्ने सोँचाइ हुन्छ । त्यसैले 
ओभरवेट तथा मोटोपनलाई स्वास्थ्य समस्याका रुपमा लिँदैनन् ।
 
 तर 
बाल्यकालमै बढि तौलबाट पीडित बच्चाहरुमा मधुमेह, उच्च रक्तचाप र तनाव तथा 
मुटुसम्बन्धि रोगको खतरा बढि हुन्छ । त्यसैले आफ्ना बच्चाबच्ची आवश्यकता 
भन्दा बढि मोटाउँदा आमाबुवा मख्ख पर्ने नभइ चिन्ता लिन थाल्नुपर्दछ । 
बच्चालाई स्वस्थ र तन्दुरुस्त राख्न, तथा मोटोपन र बढि तौलको समस्याबाट 
जोगाउन आमाबुवाले निम्न कुरामा ध्यान दिनुपर्छ :
 
 · स्वस्थ भोजन : 
गर्भवती महिलाले गर्भावस्थाका बेला सन्तुलित तथा स्वस्थ भोजन खानुपर्छ । 
जसका कारण गर्भमा रहेको शिशुलाई पर्याप्त पोषण पुगोस् । गर्भवती महिलाको 
आहारविहारले गर्भको शिशुको स्वास्थ्य तथा उसको भोलिको खानपिनको व्यवहारलाई 
समेत निर्धारण गर्ने विज्ञहरु बताउँछन् ।
 
 · स्तनपान : स्तनपानलाई 
अमृतसमान भनिन्छ । आमाले आफ्नो बच्चालाई सकेसम्म धेरै स्तनपान गराउनुपर्छ ।
 बच्चालाई ६ महिनासम्म आमाको दुधमात्र खुवाउने र त्यसपछि आमाको दुधको साथै 
अरु पौष्टिक आहार पनि सन्तुलित रुपमा खुवाउनुपर्छ ।
 
 · जंक फुडबाट 
बच्चालाई टाढै राख्नुहोस् । खानामा बच्चालाई फलफूल तथा सागसब्जीको मात्रा 
बढाउनुहोस् । गर्भवती महिलाले समेत जंक फुडको सेवन गर्नु हानिकारक हुन्छ ।
 
 · बच्चाले कहिलेकाहीँ केही खानेकुरा खान नमान्न सक्छ । यसको मतलब उसलाई सो
 खाना मनै पर्दैन भन्ने होइन । दिनदिनै एउटै खानेकुरा खुवाउनु भन्दा फरक 
फरक खानेकुराका खुवाउन सकेमा बच्चाले मन लगाएर खान्छ ।
 
 · बच्चालाई
 स्वस्थ तथा लाभदायक खानेकुरा खानमा प्रोत्साहन गर्नुहोस् । खान नमानेमा 
दण्ड दिने वा कुटपिट गर्ने कहिल्यैपनि गर्नुहुँदैन । दिएको कुरा राम्ररी 
खाएमा स्याबासी दिनुहोस् । आफुले घरमै बनाएको स्वस्थ खानेकुरा बच्चाले खान 
मानेन भनेर सजिलोको लागि बजारबाट ल्याएर अस्वस्थ तथा हानिकारक तयारी 
खानेकुरा खुवाउनु हुँदैन । यदि यसो गरियो भने बच्चामा स्वस्थ तथा सन्तुलित 
भोजमा बानी पर्छ , जसका कारण ऊ स्वस्थ तथा तन्दुरुस्त बन्दछ । 
 
 स्रोत: onlinekhabar